May 21, 2008


May 20, 2008

बस दर्घटनामा १८ को मृत्यु


- कपिलवस्तुको कृष्णनगरबाट प्युठानको दम्तीतर्फ गइरहेको बस राप्ती नदीमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । अरू ३६ यात्रु हराइरहेका छन् । ना.२ख६०३८ नम्बरको बस सोमबार बिहान दाङको लालमटियाको सडकबाट राप्ती नदीमा खसेको थियो । बसभित्र र छतमा समेत यात्रु खचाखच थिए । छतबाट हामफालेर बचेका भिंग्री प्युठानका मनोज खड्काका अनुसार बसमा सयभन्दा बढी यात्रु थिए । दुर्घटनामा परी मृत्यु हुनेहरूमा भालुवाङ दाङ निवासी गाडीधनी शिवकुमार गुप्ता, चालक स्याङ्जा वालिङका रमेश ढकाल, सन्धीखर्क- १ अर्घाखाँचीका समसुद्दिन मियाँ, कपिलवस्तु शिवपुरका ढालबहादुर दर्लामी, बरौला- ७ प्युठानका भेषराज रिजाल र प्युठान ओखरकोटका कृष्ण केसी रहेका छन् । त्यस्तै, बांगेसाल प्युठानकी कुशुम खातुन र वन्दना आचार्य, सिद्धारा अर्घाखाँचीका खिमबहादुर रावत, ढाकावाङ अर्घाखाँचीका रामप्रसाद चुँदाली, जलुके अर्घाखाँचीका बालकृष्ण कार्की, जलुके अर्घाखाँचीकी कल्पना रिजाल, बरौला प्युठानका भेषराज रिजाल, कपिलवस्तु चन्द्रौटाका विजय रावतको पनि दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै, अन्य मृतकमा खलंगा प्युठानका राजेश सुनार र उनकी श्रीमती तथा ११ महिनाकी छोरी र सिद्धारा अर्घाखाँचीका मगर काइँलाको पनि दुर्घटनामा मृत्यु भएको छ । खलंगा, प्युठानकी नाम खुल्न नसकेकी एक महिलाको पनि लास भेटिएको छ । नदीभित्र हराइरहेका यात्रुहरूलाई खोज्न सोमबार दिनभर नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी र माओवादी कार्यकर्ता खटेका थिए । बस तान्न क्रेन नहुँदा उद्धारकार्यमा कठिनाइ भइरहेको छ । उद्धारकर्ताहरूले 'फेरी'मा चढेर दुर्घटनामा परेका यात्रुहरूलाई खोजी गरिरहेका छन् । बस सीधै पानीमा डुबेकाले अन्य यात्रु जीवित हुनसक्ने सम्भावना निकै कम छ । मर्नेहरूमा अधिकांश बुद्ध पूणिर्माको दिन पवित्र तीर्थस्थल स्वर्गद्वारीमा लाग्ने मेलामा जाने तीर्थालु रहेका छन् ।'गङदर्‍याङ-गङदर्‍याङ गर्दै गाडी खोलामा पस्यो, मलाई कसरी पानीबाट निकाले थाहा नै पाइनँ,' घाइते प्युठान धरमपानी-८ की विष्णु खत्रीले भनिन् । गाडी पल्टँदा उनी गाडीभित्रै थिइन् । 'गाडी पल्टियो, झ्यालबाट बाहिर खसेजस्तो लाग्छ, तर के भयो थाहा छैन,' उनले भनिन् । उनीसहित २२ जना घाइतेको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते ६ जना सिकिस्त रहेको चिकित्सक डा. प्रवेश न्यौपानेले जानकारी दिए । डा. न्यौपानेका अनुसार घाइतेमध्ये धेरैको टाउको र छातीमा चोट लागेको छ ।


मेडिकल कलेज कोहलपुरमा ल्याइएका घाइतेहरू

रामबहादुर थापा (प्युठान)३२, सन्तोष यादव (बलरामपुर भारत)३२, पन्चु सहनी (सर्लाही)२७, पदम पुन (प्युठान) ३५, गुमानसिंह केसी (प्युठान)२७, वसन्त राना (प्युठान)२८, निशा कुमारी (प्युठान)४५, खैरु सहनी (सर्लाही)४० र विष्णु खत्री (प्युठान)३५, रहेका छन् । त्यसैगरी, सुपबहादुर अधिकारी (प्युठान)२०, विक्रम शाही (कपिलवस्तु)१८, दिलबहादुर थापा (प्युठान)५७, गोपाल विक (प्युठान)२४, बलबहादुर कुमाल (प्युठान)३६, भिमा राना (प्युठान)५२, लीला कुमाल (प्युठान)२५, शान्ति विक (प्युठान)३५, नारायण केसी (प्युठान)२५ र शिवा रावल (अर्घाखाँची)१६, रहेका छन् ।


हामफालेर बँचे

मेरो नाम मनोज खड्का हो, प्युठानको भिंग्री हो मेरो घर । बस आफ्नै गतिमा थियो । तर, दाङको लालमटिया पुगेपछि बसभित्रैबाट ठूलो आवाज आयो । पछि थाहा भयो, पट्टा भाँचिएको रहेछ । बस पूरै असन्तुलित भयो । म जमिनमा बजारिएँ, त्यसैले बेहोस भएछु । होसमा आउँदा बस देखिएन । मैले अरूलाई बस खै भनेर सोधेँ । त्यहाँ जम्मा भएकाहरूले बस त राप्ती नदीमा पूरै डुब्यो भने । बसमा म एक्लो थिइनँ । एक सय यात्रु थिए । त्यसमध्ये मेरै बुबा तुकसिंह र अर्का मेरा साथी पनि थिए । उनीहरू सबै बससँगै नदीमा खसे । बस जहाँ खसेको छ, त्यहाँ नदीको पानी दह बनेको रहेछ, त्यसैले बस देखिएको छैन ।
Source : Naya patrika